एजेन्सी । चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले बेइजिङमा गरिएकाे परीक्षणमा अहिलेसम्मकै सकरात्मक नतिजा देखिएको बताइएकाे छ। पहिलो चरणको परीक्षण प्रतिवेदनमा भ्याक्सिनले दुई हप्ताभित्र मानिसमा भाइरसविरुद्ध लड्ने क्षमता रोगप्रतिरोधात्मक क्षमता विकास भएको पाइएको न्युयोर्क टाइम्सले जनाएको छ।
पहिलो चरणको परीक्षण प्रतिवेदन द ल्यानसेट जर्नलमा प्रकाशन गरिएको छ। प्रतिवेदनमा परीक्षणका क्रममा नजिता अहिलेसम्मकै प्रभावकारी आएको उल्लेख छ। परीक्षणमा १८ देखि ६० वर्ष उमेरका १ सय ८ जना स्वयंमसेवक सहभागी भएका थिए। मानिसमा परीक्षण गर्नुभन्दा पहिले यो भ्याक्सिन बाँदरमा प्रयोग गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। बाँदरमा पूर्णरुपमा सफलता प्राप्त गरेपछि मानिसमा परीक्षण गरिएको थियो। बाँदरलाई कोरोना भाइरसको संक्रमण देखिएको छैन।
बेइजिङको सिनोवाक बायोटेक नामको चिनियाँ कम्पनीले ‘एडी-पाइभ’ नामक भाइरसबाट यो भ्याक्सिन तयार गरेको न्युयोर्क टाइम्समा उल्लेख छ। खोपको विकासका लागि विभिन्न देशबीच प्रतिस्पर्धा चलिरहेकामा अब चीन सबैभन्दा अगाडि देखिएको छ। लनसेटको प्रतिवेदनमा एकपटकमात्र खोप दिइएका व्यक्तिमा दुई हप्ताभित्र कोरोनाविरुद्धको क्षमता विकास भएको पाइएको उल्लेख छ। तर २८ दिनमा भने मानिसमा पूर्णरुपमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता विकास भएको छ।


























