बुटवल, जेष्ठ ७ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन्।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो।
अस्पतालले पनि विज्ञप्ति निकालेर उपचाररत युवकको जीवित रहेको स्पष्ट पारेको छ। मृत्यु भएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ।
विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको उनको मृत्युको खबर भ्रामक र अतिरञ्जित भएको अस्पतालले केहीबेर अघि विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारको छ ।
अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसुमदायमा अनावश्यक त्रासको वातावरण भएको यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा, बाबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँछौं।’

बिरामीको अवस्था गम्भीर रहेको तर उनको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको अस्पतालले उल्लेख गरेको छ।
उपचारका लागि अर्घाखाँची सन्धिखर्कको छायाँ पोलिक्लिनिक आएका उनलाई थप उपचारका लागि क्रिमसन अस्पताल रिफर गरिएको थियो।


























