काठमाडौं, जेष्ठ २ । चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ। गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ। चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ।
गुगलको नक्शामा माउन्ट एभरेष्ट खोजेर हेर्नुहोस् (गुगल म्याप हेर्न यहाँ क्लिक गर्नुहोस्) यसको संकेत चीनतर्फ देखाउँछ। सगरमाथा नेपालको भुभागबाट हटेर चीनतर्फ देखिनुलाई गम्भीर रुपमा लिइएको छ। गुगल म्याप्स विश्वमै नक्शाको जानकारी पाउने र धेरैले खोज्ने माध्यम हो।
यसअघि चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनमा पर्छ भनी प्रचार गरेको थियो। ट्वीटर पेजमा यसलाई राखेपछि सर्वत्र आलोचना भएको हो। लगत्तै उक्त टेलिभिजनले ट्वीटर पेजबाट सच्याएर चीन-नेपाल सीमामा पर्छ भनी उल्लेख गरेको थियो। वास्तवमा सगरमाथा नेपालमा पर्छ। चीनले विस्तारै यसमा दाबी गर्ने योजना बनाएको संकेतहरु देखिनथालेको छ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको अदभुत घेरा भनी तस्बिर राखेको थियो। जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ ।

चीनले सगरमाथामा बाटो बनाउने देखि उचाई नाप्ने सम्मका गतिविधि अगाडि बढाएको छ। उसले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाउने मिसनलाई गति दिदै निर्माण सामाग्री समेत लगिरेहेको छ।

चिनियाँ पत्रिका चाइना डेलीको अनलाइन संस्करणले बाटो निर्माण टोलीले काम गर्ने भन्दै तस्बिरसहित समाचार प्रकाशित गरेको थियो। आइतबार ६५०० मिटर उचाईबाट बाटो निर्माण र सामान ढुवानीको टोली ७०२८ मिटरमा अवस्थित क्याम्पमा पुगेको उल्लेख छ।
चीनले ३० अप्रिलबाट सगरमाथाको उचाई नाप्न नयाँ चरणको कामा शुरु गरेको थियो। उसले सगरमाथालाई चोमोलोङमा भन्ने गरेको छ। यसअघि सन् १९७५ मा नाप्दा सगरमाथाको उचाई ८८८४.१३ मिटर निस्किएको थियो । सन् २००५ मा नाप्दा ८८४४.४३ मिटर निस्कएको थियो। तर, विश्वले चीनको सगरमाथा नापेर निस्किएको नापलाई मान्यता दिएको छैन।
यसैगरी चीनले सगरमाथामा फाइभ जी स्टेशन स्थापना गरेको छ। तिब्बतर्फ स्टेशन राखेपनि यसको प्रभाव सगरमाथाको चुचुरोसम्म रहने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।


























