चितवन, बैशाख २९ । सौराहाका पर्यटन व्यवसायीले निकुञ्जको पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा स्थानान्तरणका लागि माग गरेका छन्। उनीहरुले पूर्वी क्षेत्रमा पोथी गैँडाको अभाव भएको भन्दै २० वटा पोथी गैँडा स्थानान्तरणका लागि निकुञ्जसँग माग गरेका हुन्।
गैँडाको अभावका कारण यस क्षेत्रमा पहिलेको तुलनामा गैँडा कम सङ्ख्यामा देखिने गरेको व्यवसायीले बताएका छन्। पर्यटकीय क्षेत्रमा गैँडाको अभाव हुनुले यस क्षेत्रको विकासका लागि चुनौती थपिएको भन्दै व्यवसायीले गैँडा स्थानान्तरणका लागि माग गरेका हुन्। दुई वर्षअघि आएको बाढीका कारण पूर्वी क्षेत्रमा रहेका गैँडा बगाएर पश्चिम क्षेत्र पुर्याएको थियो। गैँडा बाढीले बगाएसँगै पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्या कम भएको क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष राममणि खनालले बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले आन्तरिकरुपमा गैँडा स्थानान्तरणका लागि विभागसँग अनुमति लिएर गर्न सकिने बताए। बाढीका कारण पूर्वी क्षेत्रमा जङ्गली जनावरको कमी भएको भन्दै उनले यसका लागि विभागसँग कुरा भइरहेको जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यहाँ आउने धेरै पर्यटक सौराहा बस्ने गर्दछन्। उनीहरु निकुञ्जको पूर्वी क्षेत्रमा घुम्ने गर्दछन्। ती क्षेत्रमा गैँडाको सङ्ख्या कम भएसँगै व्यवसायीले गैँडा सार्न माग गरेका हुन्। रासस


























