काठमाडौं, बैशाख २६ । कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचाररत ८ जना कोरोना भाइरस संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै नेपालमा कोरोना भाइरसबाट डिस्चार्ज भएकाहरुको संख्या ३० पुगेको छ।
शुक्रबार डिस्चार्ज भएकाहरुमध्ये ७ जना नेपाली र १ जना भारतीय नागरिक हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले शुक्रबार नियमित व्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन्। कोशी अस्पतालमा अझै १७ जना संक्रमित उपचाररत छन्।
अघिल्लो पटक ६ जना संक्रमित डिस्चार्ज भएका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ८ सय ५९ पुगेको जानकारी दिएको छ।
पिसिआरबाट १५ हजार ४ सय ९२ जनाको कुल परीक्षण भएको हो भने आरडिटी विधिबाट ५४ हजार ५ सय ३१ जनाको परीक्षण भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
यस्तै हाल देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ।
आइसोलेसनमा भने कुल १३५ जना रहेको जसमा उपत्यकाभित्र ३ जना र उपत्यका बाहिर १३२ जना रहेको उनले जानकारी दिए।
यस्तै उनले रेडजोनमा देशभर ३ सय ३६ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा १ जना रेड जोनमा परेका हुन्।


























