काठमाडौं, बैशाख २५ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रिबजेट छलफलपछि संसद्मा प्रस्तुत हुने भएको छ। संसद् सचिवालयले जेठ २ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्ततु गर्ने कार्यसूची सार्वजनिक गरेको छ।
नीति तथा कार्यक्रम सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन्।
नीति तथा कार्यक्रम पछि प्रिबजेट छलफल गर्ने परम्परा भएपनि कोरोना प्रकोपका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको हो। संसद अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मितिलगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार छलफल गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
संसद् सचिवालयका सहप्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले नीति तथा कार्यक्रम जेठ २ गते प्रस्ततु हुने बताए। उनका अनुसार प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख २८, २९ र ३० गते हुनेछ। राष्ट्रियसभामा भने २८ र २९ गते मात्रै प्रिबजेट छलफल गर्ने गरी तयारी भइरहेको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेस गर्नुपर्ने र त्यसको १५ दिन पहिले नै प्रिबजेट छलफल गरिसक्नुपर्ने हुन्छ।


























