चितवन, बैशाख २२ । चार वर्ष अघि चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो। अस्पतालका उपकरणहरु थन्किएका थिए। उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो। यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्रा.डा.विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ। उनको तीनवर्षे कार्यकालको नियुिक्त वि.स २०७४ वैशाख २४ गते भएको थियो।
उनले भने,“ मैले कार्यभार संहाल अस्पतालमा १ सय ९४ श्यया रहेको थियो। अहिले ४ सय ५० पुगेको छ। आठ वटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ। यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर रहेका थिए। यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ।” वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो।
अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ। यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन्। यस संगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन्। कार्यकारी निर्देशक डा.आचार्यका अनुसार पोखरा विश्वविद्यालयसंग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ। दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन्। अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेका छन्। अस्पतालमा तीन वटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ। उनले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन्। यसका कारण पालोमा बस्नु नपर्ने भएको छ।
अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ। अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन्। अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ। लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ।
अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन्। उनले भने,“यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो। अव पालो कुनु पर्दैन। अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन्। ”अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो। अस्पतालले आफ्नै फार्मेसी सेवा शुरुआत गरेको छ।
उनका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पुर्याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पुर्याइएको छ। अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ। गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ।
नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन्। चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो। अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन्।
अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदा हुँदै हालै मात्र अध्यक्ष हुनु भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताए। जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उनको भनाई छ। न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ।
क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिए। आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि बढेको बताए। अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसंगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताए। बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो। धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन्। रासस


























