बैशाख २० । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण रोक्न तथा त्यसबारे विश्व समुदायलाई आवश्यक जानकारी गराउने सम्बन्धमा कुनै पनि ढिलाइ नगरिएको स्पष्ट पारेको छ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि उसले गरेका काम सुस्त र पर्याप्त नरहेको भन्दै आलोचना भएपछि डब्लुएचओले आफ्नो तर्फबाट समय खेर नफालिएको बताएको हो।
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जनवरी ३० मै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको र त्यसले पूरै विश्व समुदायलाई यसविरुद्धको अभियानका लागि पर्याप्त समय प्रदान गरेको बताए।
त्यो बेला चीन बाहिर मात्रै ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो र कसैको पनि कोभिड–१९ बाट चीनबाहिर निधन भएको थिएन।
अहिले विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ४१ हजार भन्दा बढी पुगेको छ। यस्तै विश्वभर अहिलेसम्म कोभिड–१९ बाट दुई लाख ३८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ६४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ११ लाख भन्दा बढी पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले कोरोना भाइरस महामारी नियन्त्रणका लागि अति कमजोर काम गरेको र चीनको पक्ष लिँदै आएको आरोप लगाउने गरेका छन्।
सोही आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने घोषणा गरेका थिए। अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी हो।
महामानिर्देशक डा.टेडरोजले शुक्रबार पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध डब्लुएचओले गरेको कामको स्पष्ट बचाउ गरेका हुन्।
कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा पूर्वको समयलाई डब्लुएचओले बुद्धिमत्तापूर्वक प्रयोग गरेको उनले बताए। भाइरसका बारेमा थप बुझ्नाका लागि त्यसको उद्गम थलो चीन गएर अध्ययन गरिएको उनले बताए।
घोषणा गरिएको तीन महिनापछि पनि कोरोना भाइरसको महामारी सार्वजनिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय चासोयुक्त आपतकाल नै रहेको डा.टेडरोजले बताएका छन्। यस्तो अवस्थामा विश्वव्यापी प्रयासको खाँचो पर्नेमा उनले जोड दिएका छन्।
कमजोर स्वास्थ्य सेवा भएका देशहरुमा भाइरसको संक्रमण फैलिने सम्भावना रहेकाले गम्भीर चिन्ता थपिएको भन्दै उनले विश्व समुदायलाई सचेत बनाएका छन्।
हाइटी, सोमालिया र सुडानसहितका देशमा पछिल्लो समय संक्रमण बढ्दो क्रममा देखिएको छ। यसले चिन्ता गम्भीर रुपमा बढेको अधिकारीहरुले बताएका छन्।
यस्तै संक्रमणको उच्च तह पार गरेको भन्दै विभिन्न देशहरुले लकडाउन तथा सामाजिक दूरीसहितमा अपनाएको खुकुलोपनले समस्या थप गम्भीर हुन सक्ने तर्फ पनि डब्लुएचओले सचेत बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस चीनको प्रयोगशालाबाट आएको भन्ने प्रमाण आफूसँग रहेको दाबी बिहीबार पनि गरेका थिए। सोही दिन अमेरिकी गुप्तचर निकायले भने भाइरस मानवनिर्मित नरहेको स्पष्ट पारेको थियो।


























