बैशाख ४ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको निन्दा गरेका छन्।
कोरोना भाइरसको महामारी विरुद्ध मिलेर लड्नु पर्ने बेलामा सहयोग रोक्ने निर्णय गर्नु अति दुःखदायी रहेको उनले बताएका हुन्।
ट्रम्पले डब्लुएचओलाई अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने बताएसँगै विश्वव्यापी रुपमा तीव्र आलोचना भएको छ। विश्वभर २० लाख ६४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ३० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
लगातार डब्लुएचओको आलोचना गर्दै आएका ट्रम्पले मंगलबार सहयोग रोक्न निर्देशन दिएको बताएका थिए। उनले डब्लुएचओ कोरोना भाइरसको महामारी रोक्नका लागि असफल भएको र चीनको पक्षपोषण गरेको अभियोग लगाउँदै सहायता रोक्ने उल्लेख गरेका हुन्।
ट्रम्पको घोषणापछि डब्लुएचओका प्रमुख डा। टेडरोजले अमेरिका लामो समयदेखि डब्लुएचओको उदार सहयोगी रहँदै आएको र सो सहयोगी जारी रहने अपेक्षा रहेको बताए।
तर अमेरिकाले सहयोग रोकेमा डब्लुएचओको काममा पर्ने प्रभावको मूल्यांकन पनि गरिरहेको र त्यसलाई परिपूर्ति गर्न अरु दाताको खोजी पनि गर्ने उनले उल्लेख गरे।


























