चितवन, बैशाख २ । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोनाभाइरसको उच्च जोखिममा रहेको छ। अस्पतालमा कोरोनाको सङ्क्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउँने भएपछि रोगको जोखिम उच्च भएको हो।
अस्पतालका कार्यकारी दिर्नेशक डा.विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताए। अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलव्ध गराइएको छ। अन्य समयमा यो सङ्ख्या दैनिक ६०० भन्दा बढी हुने गर्दछ। आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका रहेका छन्।
लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको सङ्ख्या धेरै भएको अस्पतालले जनाएको छ। अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रियाहरु भइरहेको उनले जानकारी दिए।
देशैभरबाट बिरामी आउँने हुँदा अस्पताल उच्च जोखिममा परेको आचार्यले बताए। केही दिन अत्यावश्यक बाहेकका बिरामी अस्पताल नआउन भनिएपनि दबाब थेग्न कठिन भएको आचार्यले बताए। अस्पतालले विशेषज्ञ चिकित्सकहरुको मोवाइल नम्बर सार्वजनिक गरी परामर्श गर्न अनुरोध गरेको छ।
हरेक वर्ष अस्पतालले आठ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ भने एक लाख ४० हजार हाराहारी बिरामीलाई बहिरङ्ग सेवामा हेर्ने गर्दछ। चिनीया सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा हाल ४५० शैया रहेको छ। रासस


























