चैत्र २५ । हाम्रो शरीरमा सबैभन्दा स्थूल रुपमा जलतत्व नै छ। भन्नुको मतलब हाम्रो शरीररचनामा अन्य तत्वहरुको तुलनामा जलतत्व सबैभन्दा बढी हुन्छ। जल या पानी एक अति आवश्यक अन्तःकोशिकीय माध्यम हो जसद्वारा चायापचाया प्रक्रिया (पाचन प्रक्रिया) एवं जैव रासायनिक प्रतिक्रियाहरु सम्पन्न हुन्छन्। शरीरमा अम्ल र क्षारको सन्तुलनता बनाएर राख्न पनि कोशिकाहरुको भित्र र बाहिर जल एक प्रमुख माध्यम हो। शरीरमा पानीको मात्रा कम हुनुको प्रभावले रगतको आयतन पनि कम हुन थाल्दछ। फलस्वरुप यस्तो स्थितिमा क्रियाशील पेशीहरुले उष्मालाई वातावरणमा विस्तारित गर्नको लागि छालासम्म पुर्याउने र अत्यधिक क्रियाशील पेशीहरुसम्म अक्सिजन लैजाने कार्यका लागि रगतको आयतन अपर्याप्त हुन जान्छ। यदि यस्तो स्थिति बनिरह्यो भने छालामा भएको रक्तप्रवाहको कमीले शरीरको तापक्रम बढ्न थाल्दछ।
शरीरको लागि आवश्यक पानी जब बाहिरबाट आपूर्ति हुँदैन तब भोजनमा भएको पानीलाई उसले अवशोषण गर्न थाल्दछ। फलस्वरुप भोजनको पाचन एवं पाचनपश्चात पोषक तत्वको अवशोषण प्रक्रिया ठिकसँग सञ्चालन हुन सक्दैन। ठूलो आन्द्रामा संकलित मल बढी सुख्खा हुन्छ र गतिशून्यता आई कब्जको स्थिति पैदा गर्दछ।
उपर्युक्त तथ्यहरु थाहा पाईसकेपछि एक प्रश्न उठ्दछ। त्यो के भने पानी प्रतिदिन कति पिउनु पर्दछ त ? प्रतिदिन पानी पिउने दर निर्धारण गर्नुभन्दा पहिले उक्त व्यक्तिको भोजन,उसले गर्ने काम,उमेर,शारीरिक बनावट एवं उ रहने वातावरणको तापक्रम आदिबारे जान्नु जरुरी हुन्छ। यी कुराहरुको जानकारीबाट मात्र पानी कति पिउनु आवश्यक छ भन्न सकिन्छ। हल्का काम गर्ने,चिसो वातावरण या मौसम,जमिनमुनि र घरभित्र काम गर्नेहरुलाई कम पानी पिएर पनि शरीरलाई आवश्यक जलतत्व पूरा भइरहेको हुन्छ। कडा मेहनत गर्नेहरु,गर्मी वातावरण या मौसम,बाहिर घाममा काम गर्नेहरु खेलाडिहरु आदिले अत्यधिक पानी पिउनुपर्ने हुन्छ। साधारणतया हरेक व्यक्तिले २४ घण्टामा सरदर ३ देखि ४ लिटर पानी पिउनु पर्दछ।
धेरै कडा व्यायाम गर्नेहरु,खेलाडिहरु,लामो दूरीका धावकहरु,झाडा पखाला र बहुमूत्रका रोगीहरुले अवस्था हेरी धेरै पानी पिउनु पर्दछ। अध्ययनाट थाहा भए अनुसार खेल खेल्दा खेलाडिहरु कठिन व्यायामको दौरान व्यायामकर्ताहरुको शरीरबाट प्रति घण्टा २००० मिलिलिटर (२ लिटर) सम्म पसिना निस्कन्छ।
सामान्य अवस्थामा मानिसले पिएको पानीको ६० प्रतिशत पिसाबका रुपमा,२५ प्रतिशत पसिनाका रुपमा,१२ प्रतिशत फोक्सोद्वारा बाहिर फ्याँक्ने वायुको साथमा एवं ३ प्रतिशत मलको साथ बाहिर निस्कन्छ। सामान्यतः मानवशरीरको कुल संयोजनमा पानीको मात्रा मस्तिष्कमा ७४.५ प्रतिशत, हड्डिहरुमा २२ प्रतिशत,मांसपेशीहरुमा ७५.६ प्रतिशत र रगतमा ८३ प्रतिशत हुन्छ। शरीर सञ्चालनमा पानीको घटबढ भइरहन्छ र त्यो घटबढलाई सन्तुलित गर्न सफा पानी पिउनु आवश्यक हुन्छ। स्वस्थ मानिसको शरीरमा औसत ६५ प्रतिशत पानी हुन्छ र त्यस सन्तुलनमा १२ प्रतिशत भन्दा कमी आयो भने मानिस तत्काल मर्दछ। हाम्रो शरीरमा पानीको मात्रा उसको तौलको ७० प्रतिशतसम्म हुन्छ। कमजोर रोगीहरुको शरीरले पानी शरीरबाट प्रशस्त मात्रामा बाहिर फ्याँक्न सक्दैन। फलस्वरुप शरीरमा जल संकलन सुरु हुन्छ। यस्ता मानिसहरुले पानी कम पिउनु पर्दछ। महिलाहरुको शरीरमा औसत ५२ प्रतिशत पानी हुन्छ किनकी उनीहरुको शरीरमा यस्ता बोसे कोषहरु हुन्छन् जसलाई पानी प्रिय हुँदैन। यसैले पुरुषको अपेक्षामा महिलाहरुले कम पानी पिए पुग्छ।
हाम्रो शरीरमा पानीले पोषण,अक्सिजन र लवणहरुलाई घोलेर रक्त परिसञ्चारण तन्त्रको मद्दतले विभिन्न अंगसम्म पुर्याउनुका साथै शरीरका लागि अनावश्यक विजातीय द्रव्यहरुलाई बाहिर निकाल्ने र मांसपेशीहरुमा गति प्रदान गर्ने काम पनि गर्दछ। यहाँसम्म कि पानीविना हामीहरु आँखा झिम्क्याउन पनि सक्दैनौं।
उपर्युक्त पंक्तिहरुबाट हाम्रो शरीर र जलतत्वको सम्बन्ध स्पष्ट हुन्छ। अब पानी पिउने उत्तम समय एवं तरीकाहरुबारे तल उल्लेख गरिन्छ। डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले आफ्नो पुस्तक ‘आरोग्यको मूलबाटो’ मा चर्चा गरेका छन्-
पानी पिउने उत्तम समय
१. बिहान सुतेर उठ्ने बित्तिकै शौच जानुभन्दा पहिले या चार बजे रात्रीपछि पेटभर पानी पिउनु हितकर छ। गर्मी समयमा साधारण तापक्रमको सफा पानी र जाडो समयमा मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ।
२. बिहानको खाना खानुभन्दा एकघण्टा अगाडि या दुइ घण्टापछि पानी पिउनु राम्रो हुन्छ।
३. राती सुत्ने बेलामा जाडो समयमा मनतातो पानी पिएर सुत्नाले निकै फाइदा गर्छ। गलामा कफ जम्न नदिनुका साथै बिहान शौच सफा हुन्छ।
४. जसलाई सम्भव छ उनीहरुले हरेक एक घण्टामा एक गिलास पानी पिउनु बढी लाभदायक हुन्छ।
५. सम्भव भएमा तीन चार बजे दिउँसोको नास्ता र पानीको बदला फलफूलको रस या सागपातको सुप पिउनु बढी लाभदायक हुन्छ।
पानी पिउँदा अपनाउनुपर्ने सावधानीहरु
१. भोजनको साथमा भुलेर पनि पानी पिउनु हुँदैन। मोही एक या दुइ गिलाससम्म पिउन सकिन्छ। भोजनको साथमा धेरै पानी पिउनाले पाचनक्रिया सञ्चालन गर्ने पाचक रस पातलो हुन्छ,फलस्वरुप भोजन ठीकसँग पच्दैन।
२. चिल्लो भोजनपछि तत्काल चिसो पानी पिउनाले भोजन नलीमा चिल्लो टाँसिएर खसखस पैदा गर्दछ। आमाशयमा पुगेको चिल्लो पच्न कठिन हुन्छ। बरु चिल्लो भोजनपछि आधा गिलास मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ।
३. भोको मानिसले पहिले भोजन गर्नु,तिर्खाएकोले पहिले पानी पिउनु राम्रो हुन्छ। भोको मानिसले पेटभर पानी पिउँदा जलोदर नामक रोग हुने डर हुन्छ। तिर्खाएकोले पानी पिउनुभन्दा पहिले भोजन गरेमा गुल्म या गानो नामक पेटको दर्दनाक रोग हुने डर रहन्छ। तर यो एक दुइ पटक असावधान हुँदैमा हुने नभई लामो समयसम्म बराबर असावधान रहेमा हुन जान्छ।
४. पानी नपिउनु या धेरै पानी पिउनु दुबै खतरनाक मानिन्छन्। अवस्था हेरी आवश्यक पानी पिउनु पर्दछ। कब्जबाट मुक्त हुन चाहेमा प्रतिदिन सरदर तीनदेखि चार लिटर पानी पिउनु पर्दछ। उच्च रक्तचापका रोगीहरुले अवस्था हेरी पाँचदेखि आठ लिटरसम्म प्रतिदिन पानी पिउनुपर्दछ।
५. धेरै तिर्खा लागेका बेला मानिसहरु एकै पटक धेरै पानी पिउँछन्। एक पटकमा एक गिलासभन्दा बढी पानी पिउनु स्वास्थ्य अनुकूल हुँदैन। एक पटक पानी पिएपछि आधा या एक घण्टाभन्दा पहिले पानी पिउनु आवश्यक हुँदैन। चौबीस घण्टामा केवल एक पटक बिहान पेटभरी पानी पिउनु लाभदायक छ। यसले मलनिष्काशनमा सहयता गर्दछ अन्यथा अरु समयमा थोरै थोरै गरी धेरैपटक पानी पिउनु स्वास्थ्यको अनुकूल छ; एकै पटक धेरै पानी पिउनु हुँदैन।
६. पसिना आउने गरी व्यायाम गरेर,चर्को घाममा बाहिरबाट हिँडेर आएर या दौडिएर आएर या खेल्दाखेल्दैका अवस्थाहरु जतिबेला पसिना आएको,श्वास बढेको र शरीरको तापक्रम बढेको हुन्छ त्यतिबेला शरीर साधारण तापक्रममा नआएसम्म चिसो पानी या अन्य पेय पिउनु हुँदैन। सामान्य तापक्रमको पेय ढिलो–ढिलो गरी पिउनु पर्दछ। सकेसम्म विश्राम गरी पसिना सुकेपछि मात्र पानी पिउनु पर्दछ।
























