चितवन, चैत्र २५ । चितवन जिल्लाका सात स्थानीय तहमध्ये कतिपयले लगत लिने काम गरिरहेका छन् भने कतिपयले राहत बाँडिरहेका छन्। जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छन्। भरतपुर महानगरपालिकाले २९ वटै वडामा राहत बाँड्न शुरु गरिसकेको छ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाख र महानगरपालिकाको रु ५० लाख गरी रु ७० लाख पहिलो चरणमा राहत बाँड्नका लागि वडामा पठाइसकिएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार एउटा वडालाई सङ्ख्याका आधारमा रु एक लाख ५० हजारदेखि रु तीन लाखसम्म पठाइएको छ। सरकारले तोकेअनुसार राहत पाउनुपर्नेको सङ्ख्या महानगरमा करिब ३० हजार हुने उनको भनाइ छ।
रत्ननगर नगरपालिकाले लगत सङ्कलनको काम गरिरहेको छ। नगरप्रमुख नारायण वनका अनुसार पहिलो चरणमा चार हजार १०० परिवारले राहतका लागि नाम टिपाएका छन्। सो सङ्ख्या बढी भएकाले वास्तविक राहत पाउनुपर्नेको पुनः तथ्याङ्क अद्यावधिक गर्न वडाध्यक्षलाई भनिएको उनले जानकारी दिए। दुई दिनमा तथ्याङ्क अद्यावधिक गरी राहत बाँडिने वनको भनाइ छ। खानै मुस्किल भएकालाई भने वडा कार्यालयमार्फत सहयोग दिन थालिएको उनले जानकारी दिए।
खैरहनी नगरपालिकाले राहत वितरण थालिसकेको छ। नगरप्रमुख लालमणि चौधरीका अनुसार तीन हजार ५०० घरधुरीलाई राहत दिनुपर्ने देखिएसँगै वितरण शुरु गरिएको छ। पहिलो चरणमा रु ३० लाख हाराहारी खर्च हुने उनले जानकारी दिए।
राप्ती नगरपालिकाले राहतका लागि पोका पार्ने काम भइरहेको जनाएको छ। कोटेसनमार्फत राहतका सामग्री खरिद गरी पोका पार्न लगाइएको हो। नगरप्रमुख प्रभा बरालका अनुसार आजबाट राहत बाँड्न शुरु गरिने छ। चार हजार घरधुरीलाई राहत बाँडिने उनले जानकारी दिए। नगरभित्र विकट पहाडी गाउँसमेत रहेकाले राहत बढीलाई दिनुपर्ने देखिएको हो।
पहाडी क्षेत्रसमेत समेटेको कालिका नगरपालिकाले पनि तथ्याङ्क लिने काम गरिरहेको छ। नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई दिन जतिमा यकिन तथ्याङ्क आएपछि घरघरमै पुगेर राहत बाँड्ने तयारी गरिएको छ। राहत कतिलाई दिनुपर्छ भन्नेबारेमा अहिले नै भन्न नसकिने भन्दै उनले भने, “घाँटीमा मोटो सिक्री र पल्सर मोटरसाइकल चढेर राहत चाहियो भन्न आएका छन्। त्यस्तालाई हामी राहत दिँदैनौँ।”
माडी नगरपालिकाले एक हजार ११६ परिवारलाई राहत वितरण गरिसकेको छ। थप तथ्याङ्क सङ्कलन हुने काम भइरहेको प्रमुख ठाकुर ढकालले जानकारी दिए। पहिलो चरणमा रु १५ लाख बराबरको राहत बाँडिएको उनले जानकारी दिए। अत्यावश्यकबाहेकलाई राहत नदिइएको ढकालको भनाइ छ।
ग्रामीण र चेपाङ समुदायको बाहुल्यता भएको इच्छाकामना गाउँपालिकामा राहत बाँड्न शुरु गरिएको छ। गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले एक हजार ४७० परिवारलाई पहिलो चरणमा राहत बाँड्न शुरु गरिएको बताए। राहत दुई हजार ७०० परिवारले माग गरेका छन्। गुरुङले छाकै टार्न कठिन भएकालाई पहिलो चरणमा राहत बाँडिएको जानकारी दिए। दातालाई राहत दिनुपर्दा गाउँपालिकामार्फत दिन अनुरोध गरिएको भन्दै उनले राजनीतिक दल र सामाजिक सङ्घसंस्थाले पनि गाउँपालिकामार्फत राहत उपलब्ध गराएको बताए।
स्थानीय तहहरुले सातदेखि १० दिनलाई हुने गरी राहत वितरण गरेका छन्। टोल सुधार संस्थामार्फत वडामा सङ्कलन भएका तथ्याङ्कलाई आधार मानेर उनीहरुले राहत बाँडिरहेका छन्। वडा कार्यालयले सर्वदलीय समिति निर्माण गरी टोलमार्फत राहत बाँड्ने काम गरिरहेका छन्। यही चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी र श्रमिक मजदुरलाई लकडाउन अवधिभर खान पुग्ने गरी राहत वितरण गर्ने निर्णय गरेअनुसार स्थानीय तहले राहत बाँडेका हुन्। रासस


























