चितवन । भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालबाट सोमबारसम्ममा २९५ जनाले सेवा लिएका छन्। तीमध्ये ८४ जनालाई अस्पतालमा भर्ना भएका थिए। भर्ना भएकामध्येबाट ८२ जना र बाहिरी अस्पतालबाट १४ जना गरी ९६ जनाको नमुना संकलन गरेर कोरोना परीक्षण गर्दा ७९ वटा रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ।
भर्ना भएकामध्ये हालसम्मा ६४ जना डिस्चार्ज भएका छन्। सोमबार मात्रै १३ जना भर्ना भएका छन्। अस्पतालका प्रवक्ता भोजराज अधिकारीका अनुसार सोमबार ५ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। यस्तै सोमबार १० वटा रिपोर्ट आएको थियो। ती सबैमा कोरोना नेगेटिभ देखिएको उनले बताए। सोमबार पनि १७ वटा नमुना परीक्षणको लागि प्रयोगशालामा पठाइएको उनले बताए।
साेमबार २१ वटा नमुनाकाे परीक्षण
सोमबारदेखि कोरोना भाइरसको परीक्षण चितवनबाटै थालेको छ। राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको प्रयाेगशलामा सोमबार मात्रै २१ वटा नमुनाको परीक्षण भएकाे छ। प्रयोगशाला निर्माण उपसमिति संयोजक डा कृष्णसागर शर्माका अनुसार परीक्षणको रिपोर्ट भने मंगलबार साँझसम्ममा आउनेछ।


























