चितवन, चैत्र २० । कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण प्रयोगशाला (ल्याब) चितवनमा स्थापनाका लागि स्थलगत निरिक्षण गर्न प्राविधिक टोली चितवन आएको छ।
टोलीले ल्याब स्थापनाका लागि उचित स्थानको छनोट गर्ने छ। प्राविधिक टोलीमा नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्टार पुष्प राज खनाल, प्रा.डा. गिरी राज त्रिपाठी, बिमलेश झा, सुलभ आचार्य रहेकाछन्।
ल्याब कहाँ स्थापना गर्ने बारे उपयुक्त स्थानको छनोट आजै गरिने नेपाल स्वास्थ्य व्यवसायीक परिषदका रजिष्टार पुष्प राज खनालले जानकारी दिए। उनले ल्याब स्थापनाका लागि प्राविधिकका तर्फबाट गरिने सम्पूर्ण सहयोग गरिने जानकारी दिए।
प्राविधिक टोलीले आज नै जिल्लाका चिकित्सक र जनप्रतिनिधिसंग भरतपुर महानगरपालिकामा छलफल गरेको छ। ल्याब स्थापनाका लागि आजै उपयुक्त स्थानको छनोट गर्ने र जति सक्दो छिटो ल्याब स्थापना गर्ने बिषयमा छलफल भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। उनले सकेसम्म भरतपुर अस्पतालमा ल्याब स्थापनाका लागि अनुरोध गरिएको बताइन्।

चितवनमा ल्याब स्थापना गर्नुपर्ने चौतर्फी दबाब बढेपछि यसअघि प्रयोगशाला स्थापनाका लागि भरतपुर महानगरपालिकाको नेतृत्वमा पशुपंक्षी प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशाला निरीक्षण गरिएको थियो।


























