काठमाडौं, चैत्र ८ । सोमबारदेखि सरकारले लामो दूरीका यात्रुबाहक सवारीसाधनको सञ्चालनमा रोक लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न लामो दूरीका यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउने बताएका हुन्।
योसँगै लामो दूरीमा जाने यात्रुको बसपार्कमा भीड लागेको छ। यसैलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतलाई शनिबार ११ बजे छलफलका लागि बोलाएका छन्। मन्त्री नेम्वाङले शुक्रबार साँझसमेत केही सरोकारवालासँग यही विषयमा छलफल गरेका थिए।
शनिबार र आइतबार लामो दूरीका यात्रुबाहक सवारी सञ्चालन गर्न पाइने छ भने सोमबारदेखि अनिश्चितकालका लागि बन्द हुनेछ। यो दुई दिनमा घर जान चाहने यात्रुलाई कसरी सुरक्षित रूपमा पुर्याउन सकिन्छ भनेर छलफल हुन लागेको भौतिक पूर्वाधार मन्त्रीको सचिवालयले जनाएको छ।
यातायात व्यवसायीहरूसँग उपलब्ध बसले पुग्छ वा पुग्दैन, चालकहरूले बस चलाउन नमाने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालकलाई प्रयोग गर्ने विषयमा समेत छलफल हुनेछ। त्यस्तै यात्रुको चाप धेरै भए बन्द भएका निजी विद्यालयका बसहरूलाई समेत प्रयोग गर्ने अवस्था आउने तर्फ पनि मन्त्रालयले ध्यान दिएको छ।
भौतिक पूर्वाधार मन्त्रीले लामो दूरी भएर गन्तव्य जाने यात्रुलाई कसरी सहज रुपमा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफलका लागि बोलाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। छलफलमा के कस्ता विषय उठ्छन् र निर्णय हुन्छ आफूहरू त्यही अनुसार अघि बढ्ने उनको भनाइ छ।


























