चितवन, चैत्र ७ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा निर्माण भएको ५० श्ययाको ‘भरतपुर कोरोना विशेष ( अस्थाई) अस्पताल’ को सेवा प्रारम्भ गरिएको छ ।
अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजै दिउँसो ३ बजेबाट नै सञ्चालनमा आउनेछ।महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो।
भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो।
सेवा प्रारम्भ कार्यक्रममा बोल्दै डा. अनिलबिक्रम कार्कीले चीनबाट फैलदै गएको कोरोना भाईरस दक्षिण एसियाका देशहरुमा पनि तिब्र रुपमा फैलदै गएकोले बेलैमा सजक हुनुपर्ने बताए।
अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको डा. कार्कीले बताए।
कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ। अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ।


























