इटली, चैत्र ७ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको हो।
इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ भने ४१ हजार भन्दा बढी संक्रमित भएका छन्।
जसमध्य २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मी समेत रहेको जनाइएको छ। संक्रमित हुनेमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी छन्।
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। हालसम्म २ लाख ४५ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। ति मध्ये ८८ हजार १ सय ५१ जना निको भएका छन्।
चीनमा ८० हजार ९ सय ६७ जना संक्रमित भएका छन भने ३ हजार २ सय ४८ जनाले ज्यान गुमाएका छन्। अहिले चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रम जारी छ।
त्यसैगरी इरानमा १८ हजार ४ सय ७ संक्रमित रहेको र १ हजार २ सय ८४ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानपछि स्पेनमा पनि कोरोना संक्रमण तीव्र गतिमा देखिएको छ। जहाँ १८ हजार बढी सक्रमित रहेका छन् भने ८ सय ३१ जनाले ज्यान गुमाएका छन्।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय ७६ देशमा फैलिएको छ।


























