काठमाडौं, चैत्र १ । आज (शनिबार) राति १२ बजेबाट हवाइ र स्थल दुवै मार्गबाट नेपाल भित्रने सबै देशका पर्यटकलाई ‘अनअराइभल भिसा’मा रोक लगाइएको छ। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई नियन्त्रणलाई गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिले गत बिहीबार (फागुन २९ गतें) गरेको निर्णय आज रातिबाट कार्यान्वयन गर्न लागिएको हो।
सुरुमा सरकारले कोरोना भाइरस बढी प्रभावित चीन, इरान, जापान, दक्षिण कोरिया र इटाली गरी ५ देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो। त्यसपछि फ्रान्स, जर्मनी र स्पेन तीन देश थपगरी ८ देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय सरकारले गरेको थियो।
कोरोना भाइरसको सङ्क्रमण विश्वभर तीव्र रूपमा फैलिएपछि समितिको बिहीबार बसेको बैठकले विश्वका सबै देशका पर्यटकलाई अनअराइभल भिसा दिन स्थगन गर्ने निर्णय गरेको हो। समितिको निर्णयअनुसार चैत १ गते राति १२ बजेदेखि २०७७ वैशाख १८ गतेसम्म सबै देशका पर्यटकलाई अनअराइभल भिसा रोकिएको छ।
कोरोना भाइरस देखिनुअघि नेपालले नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्याण्ड, क्यारुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया गरी विश्वका १२ देश बाहेकका नागरिकलाई अनअराइभल भिसा दिँदै आएको थियो। नेपाललाई भने विश्वका ३८ देशले मात्र अनअराइभल भिसा दिँदै आएका थिए।
व्यावसायिक, अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ।
यसअघि भिसा लिइसकेका विदेशीहरूका सम्बन्धमा भने नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेस गरे प्रवेश दिने व्यवस्था गरिएको छ।
अति जरूरी कारणबाट नेपालमा यात्रा गर्नुपर्ने अवस्था आइपरेमा विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहित भिसाको लागि आवेदन दिनुपर्नेछ।
गैर आवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली परिचयपत्रका आधारमा आगमन विन्दुमा दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मको लागि स्थगन गरिएको छ। गैरआवासीय नेपालीलाई पनि अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था गरिएको छ।
शनिबारदेखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म अनिवार्य बस्नुपर्ने छ।
कूटनीतिक र अफिसियल भिसा प्राप्त विदेशीहरूको हकमा पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ।
व्यावसायिक, अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन समेत भनिएको छ।
तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा चैत १ गते राति १२ बजेदेखि लागू हुने गरी २०७७ वैशाख १८ गते सम्मका लागि स्थगन गरिएको छ।
नेपाल-भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाइएको छ।
भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काकारभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह (नेपालगञ्ज) र गड्डाचौकीबाट आवतजावत गर्ने नेपाल-भारतबीचका यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने छ। कोरोना भाइरसको सङ्क्रमण भित्रिन र फैलन नदिन गरिएको निर्णयले नेपाल र भारतबीच हुने ढुवानी सेवामा कुनै असर नपर्ने समेत जनाइएको छ।


























