काठमाडौं, फागुन १९ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल जानुअघि व्यस्तता बढाएका छन्। उनी मिर्गौला प्रत्यारोपणका लागि आजै साँझ अस्पताल भर्ना हुँदैछन्।
त्यसअघि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार पनि नेकपा सचिवालय बैठकमा सहभागी भए। दिउँसो राजनीतिक भेटघाट गरे। राति अबेरसम्म लम्बिएको आकस्मिक मन्त्रीपरिषदको बैठकमा पनि सहभागी थिए।
आज पनि बिहानैदेखि बैठकमा व्यस्त भएका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिने भएकी छन्।
यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए। तर, चिकित्सकले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन्।


























