पाँचथर, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताहरूले केही वर्षमात्रै विद्युत महसुल तिर्नुपर्ने बताएका छन्। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा विद्युतिकरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश धनी भएपछि विद्युतको महसुल तिर्न नपर्ने बताए।
‘जनतालाई सुविधा दिने र सहज बनाउने हाम्रो मनसाय हो, विद्युत महसुल तिर्नपर्ने पनि केही वर्ष हो,’ उनले भने, ‘केही वर्षपछि देशलाई हामी अलिक धनी बनाउँछौं। देशलाई अलिक धनी बनाइसकेपछि यसमा कुनै पनि समस्या पर्दैन।’
उनले विद्युतको महसुल चर्कै रहेको बताए। तर पनि यसमा सरकारले विचार गर्ने उल्लेख गरे। ‘हाम्रो काम देशको विकास गर्ने हो, सकेसम्म जनतालाई सहुलियत दिने हो,’ उनले भने, ‘तर यो विद्युतको महसुल यस्तो उकालोमा टाढाबाट ढोकामा बोकेर पानी ल्याउनेका लागि मूल्य बढी नै हो।’
विद्यतु बत्ति बाल्न, विकासका काम गर्न, शिक्षा र स्वास्थ्यका लागि आवश्यक रहेको बताए। ५० वर्ष अगाडि पाँचथर-तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीमा रहेको सिटौला पुल भएर कुम्मायकमै पर्ने रानीगाउँको उकालो बाटो हिँडेको प्रम ओलीले सम्झना गरे।
‘उकालोमा तलैबाट ल्याएको पानी, डोकामा बोकेर ल्याउनुपर्ने, ति कुराहरु मैले देखेको छु र यी ठाउँहरूमा खानेपानी कसरी पुर्याउने होला त्यो चिन्ता थियो, उनले भने, ‘आज यस ठाउँमा बाटो पुग्या छ, विजुली पुग्या छ र खानेपानी पुग्या छ।’
ओलीले तमोरको पानी यासोक बजारको बनाइएको खानेपानीका धारामा तरर झर्दा खुसी भएको बताए। उनलाई कार्यक्रमस्थल पृथ्वी माविको प्रांगणमा निर्माण गरिएको कार्यक्रमस्थल पुर्याउँदा लिम्बु जातिको जातिय बाजा च्याब्रुङ बजाएर स्वागत गर्दै लगिएको थियो। ओलीले मन्तव्यको क्रममा पाउँदा ‘मलाई त अघि च्याब्रुङ नाचुँ नाँचुँ लाग्याथ्यो’ भनेका थिए।


























