काठमाण्डौं, माघ ९ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान भईरहेको छ।
बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ निर्वाचन आयोगले जनाएको छ। मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ।
प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ।
त्यस्तै गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
राष्ट्रियसभाका एक तिहाइ सांसद्को पदावधि यही फागुन २० मा सकिँदैछ। तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ।
प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्।