काठमाण्डौं, माघ ५ । सभामुख चयनका लागि बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ। आइतवार विहान करीब साढे २ घन्टा बालुवाटारमा बसेको प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको हो।
दुई नेताबीचको बैठले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।
‘सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको छ, त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको छ’ महासचिव पौडेलले भने,‘आजै सभामुखबारे टुंगो लाग्नेछ।’
भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि सदासयता देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन।
बालुवाटार श्रोतका अनुसार सभामुखमा केपी ओली केही लचक भएका छन्। तर उनले अहिले चर्चामा रहेको भन्दा फरक व्यक्ति चाहेका छन् जसका बारेमा प्रचण्डसँग छलफल भएको छ।


























