काठमाण्डौं, माघ २ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार करीब २ घन्टा भएको छलफलमा सभामुख चयन, अमेरिकी सहयोग (एमसीसी) लगायतका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको भेटवार्ता सकिएको जानकारी दिए।
तर, दुई अध्यक्षबीचको छलफलमा भने सभामुखबारे टुंगो लागेन।
नयाँ सभामुख चयनका विषयमा देखिएको गतिरोध अन्त्य हुने दिशातर्फ छलफल अघि बढेको अध्यक्ष प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दियो।
नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ।
ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन्। उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ।
नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो। तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन्।