चितवन, माघ २ । चितवनका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहिने समस्या देखा परेको छ। त्यसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो। जिल्लामा २१५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ। उहाँका अनुसार बिजु बिरुवामा (सुन्तलाको बीउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो। लामो समयदेखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उनले बर्ताए। इच्छाकामना गाउँपालिका–६ मा यो समस्या धेरै देखिएको उनले जानकारी दिए।
सुन्तलामा जरा कुहिने समस्या देखिएपछि कार्यालयले आकस्मिक बाली संरक्षण सेवासमेत शुरु गरेको उनले जानकारी दिए। बिजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उनको भनाइ छ कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिएपछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी बोडोमिक्चर र बोडोपोष्ट बनाउने र प्रयोग गर्ने विधिबारे जानकारी दिने काम गरिरहेको छ।
सुन्तलामा जरो कुहिने समस्या देखिएपछि तीनदेखि पाँच वर्ष अन्य नगदे बाली लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनुपर्ने ढकालले जानकारी दिए। यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ। गत वर्ष एक हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने उनले जानकारी दिए। अहिले कृषकले सुन्तला टिप्ने काम गरिरहेका कारण यतिनै घट्छ भन्न नसकिने उनले बताए। रासस


























