भरतपुर, २९ पुष। उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन्। मंगलबार भएकाे निर्वाचनकाे अन्तिम मतपरिणामअनुसार संस्थापन पक्षका श्रेष्ठले प्रतिद्वन्द्वि ज्ञानेन्द्रमान शाक्यलाई भारी मतान्तरले पराजित गरेका हुन्। वर्ष २०७६-०७८ का लागि नयाँ कार्यसमिति चयन भएकाे हाे ।
मत परिणामअनुसार श्रेष्ठले १ हजार ९ सय ८० मत प्राप्त गर्दा शाक्यलाई १ हजार १ सय ९३ मत मात्र मिलेकाे थियो। यी दुई बीचकाे मतान्तर ७ सय ८७ छ।
उम्मेदवारी घाेषणाअघिबाटै चर्चामा रहेको अधिवेशनबाट संघले अन्ततः नयाँ नेतृत्व पाएको हाे। गोलाप्रथाबाट अध्यक्ष छानेको भन्दै विरोधस्वरूप शाक्यले आफ्नो छुट्टै प्यानल खडा गरेका थिए। शाक्यकाे उम्मेदवारी घोषणासँगै पहिले भएकाे गाेलाप्रथाकाे निर्णयसमेत तुहिएकाे थियो। चुननारायण श्रेष्ठ र राजु श्रेष्ठबीच गोलाप्रथा गरी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुने सहमति भएकाे थियो । शाक्यले प्यानल घोषणा गरेसँगै चुननारायण यसअघिकाे सहमति भंग गर्दै शाक्य प्यानलबाट वरिष्ठ उपाध्यक्ष बन्न राजी भएका थिए । सोसँगै उनी निर्विराेध समेत भएका थिए ।
अध्यक्षमा विजयी हुन नसके पनि कार्यसमितिमा शाक्य प्यानलका धेरै अटाएका छन्। शाक्यको प्यानलबाट ७ जना कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् भने श्रेष्ठको प्यानलबाट विजयी हुनेको संख्या ६ रहेको छ।
निर्वाचन समितिले जारी गरेको मतपरिणामअनुसार ७ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । चुननारायणसहित अन्य तीन उपाध्यक्षहरू उद्योगतर्फ चिरञ्जिवी सुवेदी, वाणिज्यतर्फ सुमनकुमार श्रेष्ठ र वस्तुगत/ एसोसिएटतर्फ भोजराज कौडाल निर्विराेध भएका थिए। कर्पोरेटतर्फ राजेन्द्र ओली र सिरिस पन्त तथा क्षेत्रीय संघमा मुक्तिप्रसाद श्रेष्ठ कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भए।
कार्यसमिति सदस्यमा उद्योगतर्फ अशोक अधिकारी (३ हजार ३३ मत), कृष्णप्रसाद रिजाल (३ हजार १३ मत), विनोद पौडेल (२ हजार ९ सय ५० मत), भानुभक्त न्यौपाने (२ हजार ४ सय मत), योगिता पिया (२ हजार ८ सय ९ मत) र लिलबहादुर क्षेत्री (२ हजार ५ सय २१ मत) विजयी भएका छन्। वाणिज्यतर्फ कार्यसमिति सदस्यमा चेतनारायण सापकोटा (२ हजार १ सय ३६ मत), थिरप्रसाद धिताल (२ हजार ४ सय ९० मत), बद्रि पौडेल (१ हजार ८ सय ४ मत), लक्ष्मी रिमाल पौडेल (१ हजार ८ सय ७२ मत), विकास थापा (१ हजार ८ सय ५० मत) र ज्ञानुप्रसाद न्यौपाने (२ हजार ५ सय १२ मत) विजयी भए ।
महिला उद्यमीतर्फ रजनी मास्केले १ हजार ९ सय ९७ मत ल्याएर जित हात पारिन् । वस्तुगततर्फ दुर्गादत्त कँडेल (२६ मत), धनप्रसाद पोख्रेल (२८ मत), विनोदप्रसाद तिमल्सिना (२१ मत) र शर्मिला न्यौपाने (२० मत) कार्यसमिति सदस्य बने।
यस्ताे छ पूरा मतपरिणामः




![उवासंघ चितवनको नेतृत्वमा श्रेष्ठ, मतान्तर ७ सय ८७ [नामावली सहित]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/20200114_180337-scaled.jpg?resize=90%2C60&ssl=1)
![उवासंघ चितवनको नेतृत्वमा श्रेष्ठ, मतान्तर ७ सय ८७ [नामावली सहित]](https://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/devghat-20-17072017111937-1000x0-1.jpg?resize=90%2C60&ssl=1)






















