मकवानपुर, पुस २६ । प्रदेश ३ को प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नाम दर्ताका लागि प्रस्ताव दर्ताका लागि तोकेको समय सकिएको छ। शनिबार बिहान ९ देखि ११ बजेसम्ममा प्रदेशको राजधानीका लागि दुई वटा फरक प्रस्ताव आएका छन्।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाको तर्फबाट प्रदेशको राजधानी हेटौंडा कायम गर्न प्रस्ताव पेश गरेका छन्। यो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले समर्थन गरेका छन्। यस्तै साना दलहरु राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले पनि मूख्यमन्त्री पौडेललको प्रस्तावमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समर्थन गर्ने जनाएपनि पनि दर्ता प्रस्तावमा नाम र हस्ताक्षर भने गरेको छैन। यस्तै विवेकशील साझा पार्टीले प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रदेशसभामा प्रस्ताव गरेको छ। विवेकशीलका सांसद रमेश पौड्यालले पेश गरेको प्रस्तावमा सांसदहरु शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेका छन्। स्वतन्त्र सांसद प्रेम तामाङले राजधानीको विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैन्।
प्रदेश ३ को नामाकरणमा भने बागमती हुने पक्का भएको छ। प्रदेश सभा सचिवालयले दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि बाग्मती हुने पक्का भएको हो।
प्रदेश ३ को नामको लागि प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँले प्रस्ताव गरेका हुन्। समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन्। उक्त नाममा नेमकिपाले पनि समर्थन गरेको छ। बागमती मात्रै नाम दर्ता भएकोले यसलाई औपचारिकता दिन मतदान प्रकृयामा चाहिँ लगिनेछ।
शुक्रबार प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्लामध्येबाट प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका थिए।
कार्यविधिअनुसार एक प्रदेशसभा सदस्य प्रस्तावक र दुई जना समर्थक रहेर राजधानी र नाम छुट्टाछुट्टै प्रस्ताव दर्ता गराउन पाईने व्यवस्था राखिएको थियो। दर्ता भएको प्रस्तावबारे आज नै छलफल हुँदैछ। आज १ बजेबाट बस्ने प्रदेश सभा बैठकमा यसबारे छलफल हुँदैछ।


























