काठमाण्डौं, पुस २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गुटगत गतिविधि चुलिएको छ। पार्टीमा आन्तरिक किचलो बढेसँगै नेताहरु गुटगत भेलामा सक्रिय भएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै रोग नेकपामा पनि सरेको छ।
नेकपाभित्र सभामुख चयन र एमसिसीलाई लिएर तीव्र विवाद छ। यही विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा नेताहरु संगठन विभाग प्रमुख वामदेव गौतम निवास भेला भएको खुलेको छ।
पार्टीभित्र सभामुख चयनबारे तीव्र विवाद भइरहेको बेलामा भएको गुटगत भेलालाई अर्थपूर्ण मानिएको छ। गौतम निवासमा बुधवार अध्यक्ष अध्यक्ष दाहालसहित, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए।
उक्त भेलामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरुलाई भने सहभागी गराइएन। सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओली र ओलीनिकट मानिएका नेताहरुलाई समावेश नगरी बैठक गरेपछि नेकपामा नयाँ तरङ्ग पैदा भएको छ।
बुधवार अध्यक्ष प्रचण्डको नेतृत्वमा गौतम निवासमा भएको छलफलमा ओलीनिकट नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सहभागी थिएनन्। सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्। ९ जनाको नेकपा सचिवालय सदस्यमा पनि एमसिसीलाई लिएर चर्को विवाद छ।
स्थायी कमिटीले एमसिसीबारे निर्णयको जिम्मा दिए पनि अनिर्णित छ। सचिवालय सदस्यहरु सम्मिलित बैठक भएपछि नेकपाभित्र नयाँ राजनीतिक समिकरण बन्न सक्ने आँकलन गरिएको छ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा गौतमको निवासको भेटवार्ताले सभामुखबारे पार्टीमा ठूलो लफडा चलिरहेको संकेत गर्छ। सभामुख तत्कालीन माओवादी केन्द्रको भागमा परेको हुनाले अध्यक्ष दाहाल र उनीनिकट नेताहरुले नछाड्ने मुड बनाएका छन्।
प्रधानमन्त्री ओलीले सभामुखमा आफूनिकट मानिएका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउन चाहेका छन्। यता, अध्यक्ष दाहाल आफूनिकट अग्नि सापकोटाको पक्षमा उभिएका छन्।
अध्यक्ष दाहाल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीसँग छलफल गरेर सोमबार सभामुखका प्रत्यासी सापकोटालाई लिएर उनको गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए। दाहाल यसअघि पार्टीमा तीव्र विवाद परेको बेला आरामका लागि भन्दै सिन्धुपाल्चोक पुग्ने गरेका थिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटकको भेटमा अडान कामय राखेकै कारण सहमति जुट्न सकेको छैन। अध्यक्ष दाहालले सभामुखमा सापकोटाको पक्षको अडान यथावत् राखेका छन्।
उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सभामुखका लागि अडान नछोड्दा नेकपाभित्र यो विषय पेचिलो बन्दै गएको छ। ‘अध्यक्ष दाहालले सभामुख तत्तकालीन नेकपा एमालेलाई छोड्न परेको खण्डमा प्रधानमन्त्री तत्कालीन माओवादी केन्द्रलाई दिनुपर्छ। नत्र, हामी सभामुख पद छाड्न तयार नहुने प्रस्ताव ओलीसामु पेश गर्नुभएको छ,’ उनको भनाइ उधृत गर्दै एक नेताले भने। ‘सरकारको नेतृत्व दाहाललाई दिएमा सभामुख पद छाड्न तयार भएको देखिन्छ’ उनले भने, ‘सभामुखमा सापकोटालाई ल्याउँदा ओलीलाई पर्ने समस्याको समाधानको बाटो खोजौँला, त्यसबारे सोच्नुहोस्। भन्ने प्रस्ताव गरिएको रहेछ।
त्यसबिषयमा ओलीको प्रतिक्रिया आएको छैन।’ यता, नेताहरु सभामुख र एमसिसीको पक्षमा गुटगत शैलीमा देखिएपछि नेकपाभित्र प्रधानमन्त्री ओली संकटमा परेका छन्। अमेरिकन सहायता एमसिसी इन्डो प्यासिफिक रणनीतिकै अंश भएकाले यो सहायता लिन नहुने पक्षमा पनि नेकपाभित्र चर्को विवाद छ।
एमसिसी स्वीकार गर्न नहुने पक्षमा पनि प्रधानमन्त्री ओली निकटबाहेकका नेता उभिएका छन्। बुधबार अध्यक्ष दाहालको नेतृत्वमा बसेको बैठकमा पनि ओलीनिकट बाहेकका नेताहरु देखिएका छन्।
एमसिसी र सभामुख चयनको विवादले प्रधानमन्त्री ओलीनिकटका बाहेक दुईतिहाइका नेताहरु त्यसको विपक्षमै उभिएका छन्। तर, गौतमको निवासमा अध्यक्ष दाहालको नेतृत्वमा बसेको बैठक प्रधानमन्त्री ओलीको जानकारीमै बसेको नेताहरु जिकिर गरिरहेका छन्। यसो त प्रधानमन्त्रीकै सहमतिमा बैठक बसेको भए ओली निकट नेताहरु बैठकमा सहभागी भएनन्।