काठमाडौं, पुस २२ । नेपाल भ्रमण वर्ष–२०२० को अन्तर्राष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ। विदेशस्थित नेपाली दुतावास तथा दुतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज (मंगलबार) भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगिसकेका छन्। राष्ट्रियरूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौैँको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन्।
सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए। सरकारले भ्रमण वर्ष–२०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्षको देश तथा विदेशमा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ। – रासस