काठमाण्डौं, पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। आज बस्ने बैठकमा माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने तयारी गरिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने वा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग सहकार्य गर्ने भन्ने विषयमा समेत आजको बैठकबाट निष्कर्ष निकाल्ने तयारी कांग्रेसले गरेको छ। तर बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने सहभागी नहुने भएका छन्।
देउवाले बोलाएको बैठकमा सहभागी नहुने मात्र होइन, असन्तुष्ट पक्षले समानान्तर बैठक नै बोलाएको छ ।
संस्थापन पक्षले दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ भने असन्तुष्ट पक्षले महामन्त्री डा शशांक कोइराला निवासमा बैठक बोलाएको छ।
राष्ट्रियसभा सदस्यको चुनाव आगामी माघ ९ गते हुँदैछ। उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ। रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि रिक्त हुने स्थानका लागि माघ ९ गते चुनाव हुन लागेको हो ।