काठमाडौं, ०६ मंसिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छन्। भ्रमण वर्षलाई लक्षित गरी विश्वका चर्चित एवम् राजनीतिक व्यक्तित्वलाई निमन्त्रणा गरिएको उनले बताए। मन्त्रीहरूको नेपाल आगमन भएपछि पर्यटन प्रवर्द्वनबारे विचार आदानप्रदान गरिने मन्त्री भट्टराईले बताए।
‘काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ,’ उनले भने, ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरी यसअघि नै छुट्टै कार्यालय पनि स्थापना गरिएको छ।’
भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटकपटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईको भनाइ छ।
यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताए। सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उनले बताए। – रासस