तनहुँ, ०६ मंसिर। बन्दीपुर गाउँपालिकाले पर्यटकको आकर्षण बढाउन सिसाको दृश्यावलोकन स्तम्भ निर्माण गरिने भएको छ। बन्दीपुरको पर्यटन प्रवर्द्वन गर्ने उद्देयका साथ बन्दीपुरको टुँडिखेलमा उक्त स्तम्भ निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ।
जमितको सतहबाट करिब पाँच फिट अग्लो टावरको रूपमा निर्माण गरिने उक्त स्तम्भ निर्माण गर्न करिब तीन करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। ‘पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यसले यहाँको पर्यटन विकासको लागि महत्त्वपूर्ण योगदान दिनेछ भन्नेमा हामी आशावादी छौँ।’
उनका अनुसार एक पटकमा १५ जनाले अवलोकन गर्न मिल्ने गरी निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइनेछ। ‘स्तम्भ निर्माण गर्न अहिले डीपीआर निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘एक हप्ताभित्र डीपीआरको काम सकाएर टेन्डरको प्रक्रिया अगाडि बढाइने छ।’
बढ्दै गएको पर्यटक आकर्षणलाई थप आकर्षित बनाउनको लागि नयाँ कार्यको थालनी गर्न लागेको अध्यक्ष थापाले बताए। गाउँपालिकाको तथ्यांकअनुसार हरेकवर्ष बन्दीपुर आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गइरहेको छ। गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका उनले बताए।
उनका अनुसार बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत मात्रै विदेशी पर्यटक छन्। यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै रहेका छन्। जाडो मौसम सुरू भएसँगै बन्दीपुरमा पर्यटकको संख्यामा वृद्धि हुने गर्दछ। दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेपछि पर्यटकको आकर्षण अझ बढ्ने विश्वास लिइएको छ।

बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छन्। ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन्।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरू आकर्षित हुने गरेका छन्। ‘यहाँ रहेका परम्परागत घरका कारण पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्न सफल भएको छ,’ उनले भने।
पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ। भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ।