काठमाडौँ, १८ भदौ। राजधानीमै सबैभन्दा बढी आपराधिक गतिविधि हुने गरेको तथ्य बाहिरिएको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले मुलुकभरमा काठमाडौँ जिल्ला आपराधिक गतिविधिमा सबैभन्दा अगाडि देखिएको हो।
आर्थिक वर्ष ०७५÷७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौं जिल्लामा मात्रै ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन्। राजधानीपछि मोरङ सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने देखिएको विभागका एक अधिकृतले बताए।
तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ। मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ। प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ भने रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ।
सुनसरीपछि झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएको देखिन्छ भने कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको छ।


























