काठमाडौँ, १२ असार। नेपाल भ्रमण वर्ष–२०२० को लागि नेपाली पहिचान झल्कने लोगो ‘ब्राण्ड आइडेन्टिटी’ सार्वजनिक गरिएको छ। नेपालको प्रकृति, साहसिक गतिविधि, परम्परागत संस्कृति, मठमन्दिर, वन्यजन्तु तथा रैथाने जीवनशैली आदि झल्कने नेपाल चिनारीलाई आर्ट गरेर कलात्मक प्लेकार्ड सामग्री बनाइएको हो।
पहेँलो पृष्ठभूमिमा सेतो अक्षरको नेपाल लेखिएको छ, त्यसको माथितिर नेपाली टीकाको सङ्केत राखिएको छ। हरेक चिनारीका प्लेकार्डमा नेपाल लेखिएको छ। यस्ता सामग्री सवारी साधन, प्रतिक्षालयका साथै झोला, टिसर्ट, कपआदि सामानमा समेत राख्न सकिनेछ।
नेपाल भ्रमण वर्ष सचिवालयले बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेर नेपाल चिनारीको लोगो सार्वजनिक गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले उक्त लोगो सार्वजनिक गर्दै भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि यसले सहयोग पुग्ने बताए।
उनले भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशी प्रख्यात मिडियामा प्रचारप्रसार गरिरहेको समेत जानकारी गराए। साथै गुणस्तरीय पर्यटक व्यवस्थापनका लागि सेवा स्तरीकरणलगायतका काम पनि सँगै अघि बढाइने उल्लेख गरे।
भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नेपालको प्रकृति सम्पदा, संस्कृति, रितिरिवाज, साहसिक पर्यटकीय गतिविधिलाई पहिचान गराई विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लोगो बनाइएको बताए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापाले नेपाल झल्कने ‘युनिक ब्राण्ड’ लाई प्रवद्र्धन गर्न लोगो ल्याइएको बताउदै यसले नेपालको कला, संस्कृति र जीवनशैलीलाई चिनारी गराउनका साथै पर्यटकलाई नयाँ खुराक दिन सहयोग पुग्ने बताइन्। –रासस