तनहुँ, ०९ असार। तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजारमा बसपार्क निर्माण गरेको छ। सार्वजनिक जग्गाको अभाव भएकाले मासिक तीन हजार रूपैयाँ गाउँपालिकाले नै बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो। पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै बसपार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। ‘पार्किङको समस्याले पर्यटन व्यवसायलाई असर पर्छ भनी हामीले जग्गा माग राख्यौँ,’ उनले भने, ‘जग्गावालाले पनि राम्रो ठानेर सस्तो भाडादरमा जग्गा दिनुभयो।’
गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरेपछि बन्दीपुरका पर्यटन व्यवसायी खुसी भएका छन्। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष तथा तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार एकाइ अध्यक्ष वैश गुरूङले ट्राभल एजेन्सीबाट आउने गुनासो कम भएको बताए। ‘सवारीको चाप धेरै भएकोले बसपार्कको समस्या भयो भनेर ट्राभल एजेन्सीले धेरै पटक गुनासो गरे,’ उनले भने, ‘अब त्यो समस्या नरहने भयो भनेर हामीलाई खुसी लागेको छ।’
बसपार्क निर्माणको गाउँपालिकाले २५ लाख रूपैयाँ बजेट निकास गरेको छ।
मोटरसाइकल जीपजस्ता साना खालको सवारीसाधन पार्किङको लागि भने टुँडिखेल नजिकैको स्थानमा अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेपछि पिप्ले बन्दीपुर सडकको मोड सुधारको कामसमेत भइरहेको गाउँपालिका अध्यक्ष थपाले जानकारी दिए।