काठमाडौँ, २३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताएका छन्। बिहीबार नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘असिमिति पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्टलाई पनि एउटा उपयुक्त माध्यम मान्न सकिन्छ।’
नेपालको आर्थिक समृद्धिमा पर्यटनको महत्त्वपूर्ण योगदान रहने र सरकारले समेत पर्यटनलाई उच्च प्राथमिकतामा राखेको उनको दावी छ। सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नसमेत सहयोगी हुने उनले बताए। पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले मार्टले सरकार पर्यटनको विकासको लागि प्रतिवद्ध रहेको बताउँदै भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताए। नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे। नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको उनको भनाइ छ।
पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्त्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधैँ साथमा रहेको बताए। मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए।
सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ। यसअघि सन् २०१७ मा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवम् सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुँदै आएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा)ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो। -रासस