दोहा, असार १० । कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने १८१ कम्पनी कारबाहीमा परेका छन्। कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने १८१ वटा कम्पनी कारबाहीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन्।
प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको निरीक्षण गर्दा १८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पनि पक्राउ गरिएको छ।
केही साइटहरूको पुनः अनुगमन गर्दा टोलीले १३५ कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उद्धृत गर्दै पीएएमकी प्रवक्ता अल(माजेडले बताइन्।
नियम उलङ्घन गरेको बारेमा २२ वटा उजुरी इलेक्ट्रोनिक मिडिया मार्फत प्राप्त भएको उनले बताइन्। रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न आग्रह गर्न समेत अनुरोध गरिएको उनले बताइन्।
कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो।
दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैको झै बराबर गर्न सकिने बताईएको छ। कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।























