कार्तिक १६ । कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामा व विदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो। सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन्।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्। संक्रमण बढे पनि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसले ज्यान नगुमाएको संघले जनाएको छ।
विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ। गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ ।
अनावश्यक यात्रा नगरौँ
सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो।
सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरेका छन्। स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ।























