दोहा, भदौ ८ । संयुक्त अरब इमिरेट्स ९यूएई०को सारजाहमा गत अगष्ट ८ मा मृत भेटिएका दुबै जना नेपालीको पहिचान खुलेको छ।
यूएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु दुईजनामध्ये एक मोरङका र अर्का तनहुँका रहेका छन्।
उनीहरुको शव हेर्दा हत्या भएको अनुमान गरिएको छ। घटनाका विषयमा यूएई प्रहरीले अनुसन्धान जारी राखेको छ। हत्याको आशंकामा केहीलाई पक्राउ समेत गरिएको जनाइएको छ।
मृतकमध्ये एक जना मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ हुन् भने अर्का तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेको दूतावासले जानकारी दिएको हो।
यसअघि श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन। गुरुङको मृत्युबारे परिवारले पनि धेरै दिनपछि मात्र थाहा पाएको बताएका छन्।
प्रारम्भिक अनुसन्धानमा दुई जनाबीच विवाद हुँदा एक अर्काले धारिलो हतियार प्रहार गरी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
दूतावासका अनुसार श्रेष्ठ र गुरुङको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको पाइएको छ।























