लण्डन, जेष्ठ ३० । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन्। अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ। गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो।
अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १ सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २ सय ९९ गरी पछिल्लो समय ५ सय ११ जनालाई उद्धार गरिसकिएको सङ्घले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली सङघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसीसी, कुवेत र युएईलाई छ हजार डलर सहयोग गरेको थियो।
अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेकाछन्। विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १ सय ४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ। कोभिड–१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन्।
यस्तै सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड–१९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा सङ्घले करिब रु ७० लाख आर्थिक सहयोग गरेको छ। यसअघि गैरआवासीय नेपाली सङ्घले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा ९राष्ट्रिय समन्वय परिषदलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। रासस























