काठमाडौं, चैत्र १४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने त्रिदेशीय टी-ट्वान्टी सिरिजकालागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु हुने क्यानका एक पदाधिकारीले जानकारी दिए।
प्रशिक्षक डेभ वाटमोर उपत्यकाबाहिर रहेकाले बन्द प्रशिक्षण होलीपछि मात्रै सुरु हुने उनले जानकारी दिएका हुन्।
‘भर्खरै मात्र सिरिजको मिति घोषणा भएको छ । यतिबेला प्रशिक्षक वाटमोर पनि उपत्यका बाहिर छन्,’ उनले भने, ‘प्रशिक्षक उपत्यका बाहिर रहेकाले शिक्षणका लागि कार्ययोजना पनि बनाउन पाएका छैनन्। अहिले होली पनि छ। अब राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होलीपछि मात्रै सुरु हुनेछ।’
नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्ने शुक्रबार क्यानले घोषणा गरेको थियो। सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।


























