काठमाडौं, चैत्र १४ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू आन्दोलन र पार्टीको विजारोपण गर्ने व्यक्ति भएको सुनाउँदै कसैको धम्कीले नडराउने बताएका छन्। बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।
उनले आफूले विधि र विधानको कुरा गरेको सुनाए। उनले विधिको शासन पार्टीभित्र लागु हुने बताउँदै त्यसको आफूले वकालत गरेको पनि स्पष्ट पारे। राजनीति सरल रेखाबाट नबढ्ने उल्लेख गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले बालुवाटारको संसदीय दलको बैठकमा जान्नँ भनिसकेको सुनाए। उनले आफू सबै चूनौतिको सामना गर्न तयार रहेको सुनाए। नेता नेपालले महन्थ ठाकुर र डा। मिनेन्द्र रिजालहरुको दया र कृपा रहुञ्जेलसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहिरहने बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काएको भन्दै आफूलाई अत्यन्त अप्ठेरो महसुस भएको प्रतिक्रिया दिएका छन्। नेपालले भने, ‘मलाई यतिबेला भन्न पनि अप्ठेरो लागिरहेको छ। पार्टीको आन्तरिक कुरा किन यहाँ गर्यो भन्नु होला। तर, यति मात्रै भन्न चाहन्छु, सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो। तर, हामी फर्किन पनि सकिरहेका छैनौं। मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके।’ रासस


























