चितवन, चैत्र १४ । डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ। कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको हो। ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले जानकारी दिए।
वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए। पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ।
सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन्। सोही अवधिमा एक हजार १०३ दशमलव ५७ क्यूफिट काठ बेबारिसे अवस्थामा भेटिएको खनालले बताए। यसै समयमा ३५ वटा जङ्गली जनावरको उद्धार गरिएको छ भने ४२ वटाको व्यवस्थापन गरिएको छ। उद्धार गरिएका जनावरमा चित्तल, गोही, अजिङ्गर, रतुवा, हुचिल जस्ता रहेका छन्। मृत अवस्थामा भेटिएका पाटेबाघ, चित्तल, बँदेलको व्यवस्थापन गरिएको उनले जानकारी दिए। राष्ट्रिय वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका जनावारको उद्धार गरिएको हो।
अग्नि निरोधक सामाग्री हस्तान्तरण
डिभिजन वन कार्यालय चितवनले राष्ट्रिय वन क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय र सब डिभिजन वन कार्यालयलाई सामग्री हस्तान्तरण गरेको छ। खनालका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३ बाहिनी गढीमाई भण्डारा, कालीबहादुर गण भरतपुर, नम्बर २ विपद् व्यवस्थापन गण रसौली, सिंहनाथ गण (कमाण्डो) शक्तिखोर, सशस्त्र प्रहरी बल नेपाल नं १७ आँपटारी, जिल्ला प्रहरी कार्यालय चितवनलाई अग्नि निरोधक सामग्री उपलब्ध गराइएको हो।
यस्तै हरिपुर सव डिभिजन वन कार्यालय हरिपुर, कालिका सव डिभिजन वन कार्यालय शक्तिखोर र खगेडी सव डिभिजन वन कार्यालय, पदमपुरलाई आगलागी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो। सुख्खा मौसममा हावाहुरीका कारण देखा परेको वन डढेलोलाई नियन्त्रण तथा न्यूनीकरणका लागि सबै सक्रियरुपमा लाग्नसमेत कार्यालयले आग्रह गरेको छ। वन डढेलो नियन्त्रणका लागि स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग रहेका अग्नि निरोधक सामग्री तथा दमकललाई तयारी अवस्थामा राखिएको छ।
जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, डिभिजन वन कार्यालय र मातहतका सव–डिभिजन वन कार्यालय तथा सामुदायिक वन, कबुलियती वन अन्य सरोकारवाला स्थानीय युवा क्लब, आमा समूहलगायतलाई परिचालित गरी वन डढेलो नियन्त्रण प्रभावकारी बनाउन लागिएको खनालले जानकारी दिए। डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयको संयोजकत्वमा जिल्लास्तरीय सञ्जालसमेत गठन गरिएको छ। रासस


























