मुम्बई, चैत्र १४ । कोरोना संक्रमणको चपेटामा बलिउड कलाकारहरु पर्ने क्रम जारी छ। यही क्रममा अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ।
अमर उजालामा प्रकाशित समाचारअनुसार उनले आफ्नो ट्वीटर एकाउन्टबाट आफूलाई संक्रमण भएको पुष्टि गरेका छन्। उनले केही समय अघि मात्र कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए।
‘दुर्भाग्यले मेरो कोभिड–१९ टेस्ट रिपोर्ट पोजेटिभ आएको छ। पछिल्लो १० दिनमा जो मानिसहरु मेरो सम्पर्कमा आए, उनीहरुलाई म यो आग्रह गर्दछु कि आफ्नो कोरोना भाइरस टेस्ट गर्नुहोला’, उनले ट्वीट गरेका छन्।
परेशले मार्च ९ मा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए। उनले अस्पतालबाट आफ्नो तस्वीर पनि शेयर गरेका थिए। ‘वी फर भ्याक्सिन। सबै डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी र वैज्ञानिकलाई धन्यवाद’, खोप लगाएपछि उनले लेखेका थिए। केही दिन यता बलिउड कलाकारमा कोरोना भाइरसको संक्रमण दिनानुदिन देखिएको छ।
परेश अघि मिलिन्द सोमन, आर माधवन, सिद्धान्त चतुर्वेदी, कार्तिक आर्यन, आमिर खान, रोहित सराफ र रमेश तौरानी संक्रमित भइसकेका छन्। एजेन्सी


























