मुम्बई, चैत्र १३ । भारतको मुम्बईमा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको मुम्बई मिररले जनाएको छ। मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने खुलेको छैन।
ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो। अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ। त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ।
मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको बताइन्। आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि उनले बताइन्। कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ। त्यसमध्ये पनि महाराष्ट्रको राजधानी मुम्बईमा कोरोना संक्रमण उच्च छ। बिहीबार मात्रै मुम्बईमा ५ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै भारतमा बिहीबार थप ५९ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने २ सय ५७ जनाको मृत्यु भएको छ। एजेन्सी


























