चैत्र १३ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ। बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे। जेम्स वार्ड, रहिम स्ट्रर्लिङ र ओली वाट्किन्सले एक एक गोल गरे।खेलको १४ औं मिनेटमा जेम्सले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। २१ औं मिनेटमा लेविनले गोल गर्दै टिमको अग्रता २-० को बनाए।
खेलको ३१ औं मिनेटमा रहिमले गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि रह्यो। खेलको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४-० को बनाए। त्यसपछि खेलको ८३ औं मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए। वाट्किन्सले डेब्यु खेलमै गोल गरेका हुन्।
जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ। सान मारिनोले भने हारबाट छनौटको सुरुवात गरेको छ। यसै समूहको अर्को खेलमा हंगेरी र पोल्याण्डले ३-३ गोलको बराबरी खेलेका छन्। यस्तै अल्बानियाले एण्डोरालाई १-० ले हराएको छ। एजेन्सी


























