काठमाडौं, चैत्र १२ । गृहमन्त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्। रेशम र लक्ष्मणलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।
उनका अनुसार थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए। आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए। उनले माग सम्बोधनका लागि सरकारले वार्ता टोली बनाउने समेत आश्वासन दिए।
थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरूको रिहाइको माग गर्दै धर्नामा छन्।


























