काठमाडौं, माघ ९ । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा शुक्रबार प्रदेश-२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित निकालेको हो।
प्रदेश-२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो। बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले। उनले ७५ बलमा अविजित रहदै ५३ रन बनाए। पृथुको यो लगातार दोस्रो अर्धशतक हो।
यस्तै बिभत्सु थापाले ४७ रन जोड्दा आकाश थापाले ३२ रन बनाए। इशान पाण्डे १५ रन बनाउदा आदील खान ५ रनमा आउट भए। कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे। प्रदेश-२ का हरिशंकर शाहले २ विकेट लिए। विशाल सुसलिङ र कुमार थापाले १र१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो। प्रदेश-२ का लागि विवेक यादवले ६६ अर्धशतकीय इनिङ्स खेले। यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए। सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए।
प्रदेश-२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए। उनले मात्र २९ रन खर्चिए। रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए। जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ।
समूह ‘बी’को बागमती सेमिफाइनल नजिक समेत पुगेको छ। यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो। बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ। प्रदेश-२ को यो लगातार दोस्रो हार हो। पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो।


























