चितवन, मंसिर ३० । भरतपुर महानगरपालिका–२३ मा भरतपुर बहुप्राविधिक शिक्षालय प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ। भवनको महानगरप्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन्। जगतपुरमा रहेको सरस्वती माविले भोकाधिकार दिएको जग्गामा भवनको शिलान्यास गरिएको हो। महानगरप्रमुख दाहालले प्राविधिक शिक्षालयले देश सुहाउँदो श्रम र सीपलाई सम्मान गर्दै सीपमार्फत रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए। बहुप्राविधिक शिक्षालय आवासीय अवधारणाअनुसार सञ्चालन हुने बताउँदै सङ्घ, प्रदेश, सिटिइभिटी र भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।
उनले प्राविधिक शिक्षाले महानगरमा ऐतिहासिक परिणाम दिने विश्वास व्यक्त गरे। महानगरले नगरवासीको चाहनाअनुसार सबै काम अघि बढाएको बताउँदै दाहालले विकासको काममा नगरवासीले अपनत्व महसुस गरेको जानकारी दिए।
कार्यक्रममा भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतो, २४ का अध्यक्ष कान्छा मल्ल, २५ का अध्यक्ष विजय भुजेल, शिक्षालयका प्रमुख बज्रमोहन पौडेललगायतले बोलेका थिए। वडा नं २३ का वडाध्यक्ष नरिनारायण पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा शिक्षालयका प्रमुख पौडेलले तीन बिगाह क्षेत्रफलमा शिक्षालय निर्माण गर्न लागिएको जानकारी दिए। रु एक करोड तीन लाखको लागतमा दुईतले भवन निर्माण गरिँदैछ। शिक्षालयको गुरुयोजना निर्माणको काम भइरहेको उनले बताए। शिक्षालयले यसै शैक्षिक सत्रमा होटल व्यवस्थापनको पढाइ शुरु गर्दैछ। रासस


























