चितवन, चैत्र १४ । सामाजिक सञ्जालमा कहिले के त कहिले के भाइरल भइरहेको हुन्छ। यतिबेला अर्को एउटा विषय भाइरल बनेको छ। त्यो हो– फेसबुकमा पोष्ट भएका पुराना फोटोमा कमेन्ट गर्ने।
केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा मानिसहरुले आफ्ना साथी, आफन्त लगायतका पुराना फोटोहरु खोजीखोजी कमेन्ट गरिरहेका छन्।
प्रसंशाले भरिएका त्यस्ता केमेन्टहरुको व्यहोरा भने उस्तै उस्तै देखिन्छ। अधिकांश फोटोमा गरिएका कमेन्टहरु भने आफैले लेखेको नभइ ‘कपी–पेष्ट’ गरिएका छन्।
सामाजिक सञ्जालमा यसरी फोटोहरुमा कमेन्ट गरेर मानिसहरुले यतिबेला रमाइलो गरिरहेको देखिएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल मंगलबार (चैत ११) देखि सरकारले देशभर लक डाउनको घोषणा गरेको छ। लक डाउनसँगै मानिसहरु घरबाहिर निस्कन पाएका छैनन्।
यतिबेला मानिसहरु घरमै बसेर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अरुबेलाको भन्दा बढी समय बिताइरहेका छन्।
विश्वभर कोरोना भाइरसको संक्रमणबाट २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ५ लाख ३७ हजार संक्रमित बनेका छन्। नेपालमा हालसम्म कोरोनाबाट तीन जना संक्रमित भेटिएका छन्।