काठमाडौं, चैत्र १३ । कालीमाटी फलफूल तथा तरकारी बजार दैनिक ७ घण्टा सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ। फलफूल तथा तरकारीको अभाव सिर्जना हुन नदिन बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको बजार विकास समितिले जनाएको छ।
उपभोक्ता र बिक्रेतालाई लकडाउनले असहज भएकोबारे छलफल अघि बढेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार लकडाउन घोषणापछि बजारको कोरोबार एक तिहाईमा खुम्चिएको छ। लकडाउनको पहिलो दिन मंगलबार बजारमा साढे ५ सय टन, दोस्रो दिन ३ सय ७० टन र बिहीबार २ सय २५ टन मात्रै तरकारी आएको श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा कालीमाटी प्रहरी वृत्तले सुरक्षा समन्वय गर्ने गरी बजार सञ्चालनको प्रस्ताव आएको तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए।
बजारसम्म पुग्न खुद्रा ब्यापारी र थोक बिक्रेतालाई नै समस्या भएपछि मंगलबार र बुधबार बजारमा अत्यन्तै कम कारोबार भएको थियो। बजारमा भिड हुने र कोरोना संक्रमण जोखिम पनि अधिक हुने भएकाले व्यवसायी बजार जानै नसकेको महासचिव खतिवडाले बताए।